बिएण्डसीमा प्रेसर जँचाएर भारततिर लागे दुर्गा प्रसाईं
बिर्तामोड । चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भड्किएपछि त्यहाँबाट फरार भएका दुर्गा प्रसाई बिएण्डसी मेडिकल कलेजमा प्रेसर जाँच गराएर भारततर्फ लागेको पाइएको छ ।
आफैले गाडी चलाएर आएका प्रसाईंले निषेधित क्षेत्र तोडेसँगै प्रदर्शनले उग्र रुप रूप लिएको थियो । प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि लुकेका प्रसाईंलाई सटरबाट निकालेर अपराह्न ३ः२६ बजे बीएबी ४२०८ नम्बरको गाडीमा पेरिसडाँडा जाने बाटो हुँदै गाडी धनी मुकुन्द दाहाल र चालक ईश्वर विकले बिएण्डसी अस्पतालसम्म ल्याएको तथ्य फेला परेको छ ।
बिएण्डसी अस्पतालमा प्रेसर जाँच गराएर प्रसाईं पूर्वतर्फ लागेको स्रोतले बतायो । स्रोतका अनुसार उनी काकरभिट्टा नाकाहुदै भारत भागेका हुन । त्यसको भोलि पल्ट आफू मन्दिरमा लुकेर बसेको भन्दै प्रसाईको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा देखिएको मन्दिर नेपालकै भनिएपनि स्रोतका अनुसार उनी गइरहने भारतको मन्दिरमा पुगेर उनले भिडियो बनाउन लगाएका हुन् ।
प्रदर्शनस्थलबाट निकै डराएको मुद्रामा बाहिरिएका प्रसाईँ आफूलाई पक्रन प्रहरी आइरहन नपर्ने र बोलाएको ठाँउमा आफैं आउने भन्दै सामाजिक सञ्जालमा लेखेर हालसम्म फरार छन् ।