राजावादी आन्दोलनका समर्थकद्वारा लुटपाट र आगजनी
बिर्तामोड । आज काठमाण्डौमा दुर्गा प्रसाईको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि गरिएको प्रदर्शनमा लुटपाट र आगजनी गरिएको छ ।
काठमाण्डौको तीनकुनेमा भएको कार्यक्रममा प्रसाईले चलाएको गाडीले सुरक्षा घेरा नाघेर अगाडी बढेपछि तनाव शुरु भएको थियो । उनका समर्थकहरुले निजी घरमा ढुङ्गामुढा प्रहार गर्नुका साथै आगजनी गरेका छन् ।

तीनकुनेस्थित दुई वटा घर क्षतविक्षत बनाएका छन् भने नेकपा समाजवादीको पार्टी कार्यालय, जडीबुटी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले कैयन सवारीसाधनमा समेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले तितरबितर बनाएपछि भड्एिका आन्दोलनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका छन् । त्यहाँबाट उनीहरुले घडी, मोबाइल र महंगा मदिरा लुटेर लगेका छन् ।
उनीहरुले तीनकुनेस्थित अन्नपूर्ण र कान्तिपुर दैनिकको कार्यालयमा समेत तोडफोडको प्रयास गरेका छन् ।
प्रदर्शनकारीले प्रहरीको हतियारसमेत लुटेका छन् । प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले चार राउण्ड गोली प्रहार गरेको छ भने प्रदर्शनका कारण सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । एक जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि प्रशासनले काठमाण्डौका विभिन्न स्थानमा कर्फ्यु लगाएको छ ।
कर्फ्यु लागेसँगै सडकमा नेपाली सेना देखिन थालेका छन् ।
यसैबिच मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकिएको छ ।