अवैध धन्दामा सशस्त्रको अपरेशन
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले राजश्व छलेर भइरहेको अवैध गतिविधीमाथि अपरेशन शुरु गरेको छ । केहि दिन यता सशस्त्र प्रहरीले अवैध सामान धमाधम पक्राउ गरिरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार करिब एक करोड मुल्य बराबरको लत्ताकपडा र मोटर पार्टस बराबद गरेको छ । डीएसपी मदनकुमार रसाइली नेतृत्वमा गएको प्रहरी टोलीले मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरमा लुकाइराखिएको ५९ बोरा अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए । गणपति भण्डारीलाई गोप्य सुचना प्राप्त भएपछि प्रहरीले निगरानी गरेर राजश्व अनुसन्धान कार्यालय इटहरीलाई खबर गरेको थियो । अनुसन्धान अधिकृत विदुर गौतमको टोली आएपछि प्रहरीले उक्त सामान बरामद गरी राजश्व कार्यालयलाई बुझाएको बताइएको छ ।
प्रहरीले केहि दिन अघिमात्र बुधबारेबाट १६ क्विण्टल गाँजासहित दुई वटा ट्रक पक्राउ गरेको थियो भने सोमबार काँकरभिट्टाबाट नक्कली स्करपियो गाडीसमेत बरामद गरेको छ ।