जन्मोत्सवमा गिरीले दिए विद्यार्थीलाई पोशाक
बिर्तामोड । झापा अर्जुनधारा–५ का राजु गिरीले विद्यालय विद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् । गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।
सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका हुन् । आज (आइतवार) परेको उनको जन्मदिनको अवसर पारेर श्रीमती मिना गिरीसहित उनले उक्त विद्यालयमा पुगेर विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।
गिरीले प्रत्येक बर्ष आफु र आफनो जन्मदिन तथा बैवाहिक बर्षगाँठको अवसरमा दिनदुःखीलाई ह्वील चियर, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् ।
स्थानीय जेष्ठ नागरिक तोयानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सबैले फजुल खर्च गरेर मनाउने जन्मदिनको साटो सहयोगापेक्षीलाई सहयोग गरेर मनाउन आग्रह गरेका छन् । गिरीले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्दै जाने प्रतिबद्धता गरेका छन् ।
कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।