नो केवलकार समूह र सरकारी टोलीबिच वार्ता, मन्त्रीस्तरीय वार्ता टोली गठनको माग
झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ अभियान चलाइरहेका पक्षधर र सरकारबीच सोमबार भएको वार्तामा थप उच्चस्तरीय वार्ता टोली गठनको पहल अघि बढाउने सहमतिका साथ टुंगिएको छ ।
सरकारी वार्ता टोलीका संयोजक तथा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईका अनुसार दुवै पक्षबीच हाल कायम वार्ता टोलीभन्दा उच्च तहको वार्ता टोली गठन गर्न पहल गर्ने सैद्धान्तिक सहमति बनेको छ ।
साथै, आगामी वार्ता चैत ७ गतेभित्र बस्ने समझदारी समेत भएको छ । ‘त्यो अवधिभित्र उच्च तहको वार्ता टोली गठनका लागि हामी पहल गर्नेछौं,’ भट्टराईले भने ।
‘नो केवलकार’ पक्षधरको वार्ता सहजीकरण समितिका सदस्य आलोक मावोहाङका अनुसार आन्दोलनरत पक्षले केवलकार खारेजीको एकसूत्रीय माग अघि सारेका थिए ।
तर, सरकारी वार्ता टोलीले आफूहरूको तहबाट सो निर्णय सम्भव नभएको बताएपछि आन्दोलनरत पक्षले थप उच्चस्तरीय वार्ता टोलीको माग राखेको हो ।
यसअघि पनि आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टोली गठन हुनुपर्ने माग गरिरहेको थियो ।