सुखानी साहदतस्थललाई ओझेलमा पार्न खोजिएको गुनासो
माई । २०२९ फागुन २१ गते झापाका पाँच सहिदले साहदत प्राप्त गरेको सुखानी पार्कलाई ओझेलमा पार्न खोजिएको सरोकारवालाहरुले गुनासो गरेका छन् । वास्तविक साहदत स्थललाई बेवास्ता गरी अन्यत्रै निर्माण गरिएको पार्कको विकासमा सरकार लागेको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।
२०२९ फागुन २१ गते निरंकुश पञ्चायती सरकारले ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षीय नेत्र घिमिरे, ३१ वर्षीय बिरेनसिंह राजबंशी, १८ वर्षीय कृष्ण कुइँकेल र १७ वर्षीय नारायण श्रेष्ठलाई अड्डासार गर्ने बहानामा सुखानीमा लगेर क्रुरतापूर्वक हत्या गरेको थियो ।

सालबारीस्थित पार्कमा रहेको सुखानीका सहिदहरुको पूर्ण कदको सालिक
वामपन्थीहरुको पवित्र स्थल इलामको माई नगरपालिका ४ र झापा अर्जुनधारा ३ को संगमस्थलमा रहेको सुखानी पार्कलाई ओझेलमा पार्ने गरि अर्जुनधारा ९ र ११ मा रहेको सालबारी सामुदायिक वन क्षेत्रमा सहिदहरुको सालिकसहितको पार्क निर्माण गरी त्यसको विकासमा मात्र सरकार लागेको भन्दै सुखानी सामुदायिक वन उपभोक्ता समूह तथा सुखानी पर्यापर्यटन पार्कका अध्यक्षलगायत पदाधिकारीहरुले गुनासो गरेका छन् ।
‘यहाँ त नेताहरु फागुन २१ मा आउने हो, श्रद्धाञ्जली दिने हो अनि सहिदको सपना साकार पार्न लाग्छौँ भन्ने प्रण गरेर जाने हो,’ सुखानी सामुदायिक वनका अध्यक्ष मंगलसिंह लिम्बूले भने, ‘सुखानी हत्याकाण्डलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरेर राजनीति गरेपनि साहदतस्थलको विकासमा कसैको नजर पर्दैन ।’ यहाँ आउने विकास बजेटसमेत अन्यत्र लाने गरिएको उनले गुनासो गरेका छन् ।

सुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मंगलसिंह लिम्बू
फागुन २१ गते कम्युनिष्ट पार्टीहरुले कार्यक्रम गरिरहँदा पार्क वरपर टोलाइरहेका लिम्बूले साहदत स्थलको विकासमा स्थानीय सरकाले समेत ध्यान नदिएको गुनासो गरे । सम्बन्धित निकायमा बजेट मागका लागि सिफारिस माग गर्दासमेत स्थानीय सरकारले आनाकानी गर्ने गरेको उनको भनाई छ । वास्तविक साहदत स्थललाई ओझेलमा पार्ने गरी अन्यत्रै पार्क निर्माण गरिनु सहिद र उनीहरुको परिवारप्रति अपमान भएको लिम्बू बताउँछन् ।
सुखानी पार्क सामुदायिक वनको बलबुतामा मात्र विकास भइरहेको वनका उपाध्यक्ष विपिनकुमार चौहानले बताए । ऐतिहासिक महत्व बोकेको साहदत स्थल राज्यले संरक्षण र विकास गर्नु पर्नेमा उल्टै उपेक्षा गरेको चौहान बताउँछन् । उक्त पार्कलाई आकर्षक बनाएर पर्यटक तथा अध्ययन अनुसन्धानमा आउनेहरुको संख्या बृद्धि गरि आम्दानीसमेत बढाउन सकिने उनको धारणा छ ।
पार्कको मध्य भागमा भएको एउटा शौचालयमा पानीको धारासमेत छैन । एउटा कोठा महिला, एउटा पुरुषका लागि छुट्याइएको छ भने एउटा युरिनल कोठामा कम्युनिष्टको झण्डालगायत सामाग्री राख्ने स्टोर बनाइएको छ । बालबालिकाका लागि एउटा सामान्य खेल्ने ठाउँ निर्माण गरिएको भएपनि जीर्ण बनेको छ ।
इलाम–बिर्तामोड सडक किनारमै रहेको पार्कमा राज्यले लगानी गरे पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।