लागूपदार्थको सहज ट्रान्जिट बन्दै झापा, दुई कारोबारी पक्राउ
बिर्तामोड । लागूपदार्थ कारोबारीको लागि सहज नाका मानिएको झापामा दैनिक जसो प्रयोगकर्ता पक्राउ पर्ने गरेपनि कारोबारी छिटफुट मात्र पक्राउ पर्ने गरेका छन् ।
पछिल्लो समय सशस्त्र प्रहरीले शुक्रबार साँझ २९६ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय हिरालाल विक र तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय सुदिप विकलाई पक्राउ गरेको छ ।
बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको २९६ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
ब्राउन सुगर र सकुटरसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिप्रका झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।