सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, एक कैदी घाइते
झापा । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का देशका विभिन्न स्थानमा महसुस भए पनि अहिलेसम्म भौतिक र मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त भइसकेको छैन।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले शक्तिशाली भूकम्प गएपनि अहिलेसम्म क्षतिको कुनै विवरण नभएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी थापाले सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने समेत बताए ।
भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । उनको व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन ।