इलाममा पिकअप दुर्घटना हुँदा २७ जना घाइते
बिर्तामोड । इलामको माई नगरपालिका–१ पाल्टार माईखोलाको पुलको गोलाईमा पिकअप पल्टिदा २७ जना घाईते भएका छन् । दिउँसो अन्दाजी १ः१५ बजे महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमका लागि सहभागी लिएर आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप सडक गोलाईमा पल्टिँदा २७ जना घाइते भएका छन् । घाइतेहरु मध्ये २६ जनालाई माइ अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल रेफर गरिएको माइ अस्पतालकी नर्सिङ निरीक्षक देविकुमारी धमलाले जानकारी दिइन् । एक जनाको माइ अस्पतालमा नै उपचार भइरहेको उनले बताइन् । घाइते मध्ये पाँच जनाको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको बताईएको छ । अस्पतालको एक्सरे मेसिन बिग्रिएकाले अन्य बिरामीलाई पनि बिर्तामोड रेफर गर्नुपरेको अस्पतालले जनाएको छ ।
घाइतेहुनेहरुमा माई–७ का १४ वर्षका रजिन परिवार, ११ वर्षका रजिना परियार, ३१ वर्षकी गीता मगर, ९ वर्षकी काजल तामाङ, ६० वर्षकी चाँदनी मगर, ३७ वर्षका चन्द्रबहादुर थापा मगर, १७ वर्षका दिलिप मगर, १४ वर्षको कन्चन मगर, ११ बर्षका सिम्रन गिरी, १४ वर्षका मेनुका मगर, ५३ वर्षका टप वहादुर मगर, ३६ वर्षका धनबहादुर तामाङ, १२ वर्षका सनम लिम्बु रहेका छन् । त्यस्तै १४ वर्षका राजी परियार र जितपुर ६ कि पवित्रा लुङ्गेली लगायत रहेका छन् भने केहिको नाम खुल्न बाँकि रहेको छ । गाडीचालक २७ वर्षीय लेखनाथ सेन्चुरीलाई समेत उपचारका लागि बिर्तामोडतर्फ लगिएको प्रहरीले जनाएको छ ।