२०८३ बैशाख १९ गते , शनिबार

समाचारले हाम्रो भावनामा आघात पुर्यायो : कोच र सहिद परिवार

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १५ गते , विहीबार
समाचारले हाम्रो भावनामा आघात पुर्यायो : कोच र सहिद परिवार

बिर्तामोड । झापाको कचनकवल गाँउपालिका-६ बनियानीमा भएको 'जनतासँग माओवादी : तराई मधेस जागरण अभियान' उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सहभागिता तथा सहिद परिवारको आतिथ्यका विषयमा प्रकाशित समाचारप्रति कोच समुदाय र सहिद परिवारले आपत्ति जनाएका छन् । उनीहरूले माओवादी केन्द्रका अध्यक्षलाई होच्याउने गरी र शहीद परिवारको भावनालाई आघात पुऱ्याउने मनसायका साथ समाचार प्रकाशन गरिएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
केही दिन अघि विर्तामोडबाट प्रकाशित प्रतिदिन दैनिकमा 'कोचहरुलाई फकाउन केराको पातमा प्रचण्डले खाए माछा भात' शीर्षकको समाचारमा तथ्य तोडमोड गरिएको र भ्रामक रहेको भन्दै सहिद परिवार तथा कोच समुदायका प्रतिनिधिहरूले खण्डन गरेका छन् ।
'सहिद सुनिल राजवंशीको परिवारले कोच परम्पराअनुसार सम्मानपूर्वक अतिथिहरूलाई स्वागत गरेको थियो। समाचारमा यसलाई राजनीतिक रूपमा तोडमोड गरेर प्रस्तुत गरिएको छ, जसले सहिद परिवारको आत्मसम्मानमा चोट पुर्‍याएको छ। अतिथिहरूको सत्कारलाई कुनै पनि दल वा विचारधारासँग जोडेर गलत व्याख्या गर्नु निन्दनीय कार्य हो,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'समाचारमा उल्लेख गरिएका परिकारहरू सत्य भए पनि ती पारिवारिक सत्कारका रूपमा प्रस्तुत गरिएका थिए, न कि कुनै राजनीतिक उद्देश्यले। हाम्रो परम्परागत खानाका परिकारहरूको गलत व्याख्या गरी हाम्रो संस्कृति तथा पहिचानलाई तोडमोड गर्न खोजिएको छ।'
'समाचारमा सहिद परिवारले सहयोग मागेको तर पछि नेताहरूले बिर्सने गरेको भन्ने दाबी पूर्ण रूपमा निराधार छ। हाम्रो समुदायको समर्पण र सहिद परिवारको भावना प्रति गरिएको यस्तो हल्का टिप्पणी आपत्तिजनक छ। हामीले पाहुनालाई सत्कार गर्नु हाम्रो संस्कृतिको एक अंश हो, जसलाई राजनीतिकरण गर्नु कदापि उचित हुँदैन, विज्ञप्तिमा भनिएको छ ।
समाचारमा सहिद परिवारका सदस्य मोती राजवंशीको भनाइलाई तोडमोड गरिएको बताइएको छ। उनले माओवादी नेताहरूले सहिद परिवारलाई 'बिर्सेको' भन्ने कुनै भनाइ नबोलेको समेत स्पष्ट पारेका छन् ।
'हाम्रो समुदायको अतिथ्यलाई विवादास्पद बनाउने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा आएका पोस्टहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ। पाहुना सत्कारलाई गलत अर्थ लगाउनु सहिद परिवारको सम्मान विपरीत भएकाले हामी त्यस्ता भ्रामक प्रचारहरूको निन्दा गर्दछौं। यस घटनालाई लिएर आएका समाचारहरू सत्य र निष्पक्ष हुनुपर्नेमा सहिद परिवार तथा कोच समुदायका सदस्यहरूले जोड दिएका छन्। झापा भ्रमण तथा कोच समुदायको संस्कृतिलाई गलत रूपमा चित्रित गर्ने कुनै पनि भ्रामक समाचारप्रति हामी गम्भीर आपत्ति जनाउँदै प्रतिदिन दैनिकलाई सत्य समाचार प्रकाशन गर्न आग्रह गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।  हेर्नुहोस् विज्ञप्ति

 

सम्बन्धित समाचार