ट्रष्ट टीमको पहिलो अधिवेशन सम्पन्न
बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालको पहिलो अधिवेशन सम्पन्न भएको छ । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको संस्थाको आज शनिबार पहिलो अधिवेशन सम्पन्न भएको हो ।
गत वर्ष सामाजिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको ट्रष्ट टीम नेपालको शनिबार सम्पन्न अधिवेशनले खिवराज दाहालको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाको उपाध्यक्षद्वयमा यशोदा उप्रेती र पवित्रा बिमली प्रसाई, महासचिवमा सागर रिजाल, सचिवमा सिता मगर न्यौपाने र कोषाध्यक्षमा मिलन कोइराला चयन भएका छन् ।
सदस्यहरुमा सञ्जीव पाण्डे, हरी घिमिरे, किरण फियाक लिम्बू, हिमा लुइँटेल पाठक, बिना निरौला, देवी धमला, ओम कुमारी गुरुङ, रिना थापा मगर र शर्मिला घिमिरे चयन भएको निर्वाचन समिति संयोजक प्रवेश पराजुलीले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष तथा प्राध्यापक हेमकुमार खड्काले ट्रष्ट टिमले गरेको गतिविधि प्रशंसनीय रहेको बताए । विशिष्ट अतिथि साहित्यिक स्रष्टा तथा मेची क्याम्पस भद्रपुरका प्राध्यापक डा. कुमार सुवेदीले सामाजिक संस्थाहरूले सामाजिक विषयमा बहस चलाउनु जरुरी रहेको बताए । त्यस्तै अर्का अतिथि युवा व्यवसायी तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले सामाजिक संस्थाले समाज परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमकै बीच नयाँ सदस्यहरुलाई संस्थाको लोगो अंकित ब्याज वितरण गरिएको थियो । गएको कार्यकालमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै रिना थापा मगर प्रमुख रहेको अध्यात्म विभागलाई सम्मान गरिएको थियो । १० वटा मध्ये केही विभागीय प्रमुखहरू समेत चयन गरिएको थियो ।
खिवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव सागर रिजालले सञ्चालन गरेका थिए भने सहभागीहरुलाई निवर्तमान उपाध्यक्ष पुष्प खड्काले स्वागत गरेका थिए ।