अर्जुनधारामा ‘समुदायमा सरकारी वकील’ कार्यक्रम सम्पन्न
बिर्तामोड । झापाको अर्जुनधारामा ‘समुदायमा सरकारी वकील’ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकील कार्यालय झापाको आयोजनामा कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
अर्जुनधारा वडा नम्बर ३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमासो कार्यक्रम आयोजना गरिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तथा वार्षिक कार्ययोजना २०८१/०८२ ले निर्दिष्ट गरेबमोजिम ‘अभियोजनमा सुधार, व्यवसायिकतामा विकास’ भन्ने नारालाई आत्मसात् गर्दै पीडितको सहायता र संरक्षणका विषयमा समुदायलाई जानकारी दिने र समुदायबाट सहयोग एवम् पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता प्रमिला सुनुवारले अनुसन्धान, अभियोजन र न्याय सम्पादन विषयमा प्रस्तुतिकरण दिएकी थिइन् । त्यस्तै कार्यक्रमका सभाध्यक्ष जिल्ला न्यायाधिवक्ता युवराज महतले सदाचार र नैतिकता, विपद् व्यवस्थापन, फौजदारी अनुसन्धान, अभियोजन र सुनुवाई विषयमा प्रस्तुतिकरण दिएका थिए ।
प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भण्डारीले सरकारी वकील कार्यालयबाट आयोजना हुने समुदायमा सरकारी वकील कार्यक्रमबाट समुदायमा सकारात्मक प्रभाव परेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम हुनुपर्नेमा जोड दिएका थिए । मन्तव्यकै क्रममा कार्यक्रमका विशिष्ट अतिथि झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले कानूनको अनविज्ञता क्षम्य नहुने भएकोले हरेक व्यक्तिले सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले किशोर किशोरीबाट हुनसक्ने साइबर अपराध, लागूऔषध सेवन,कारोबारलगायतका कसूरहरुबाट हुनसक्ने परिणामको बारेमा जानकारी गराउँदै त्यस्तो अपराधबाट जोगिनुपर्नेमा जोड दिएका थिए ।
जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता युवराज महतको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथी विद्यालयका प्रधानाध्यापक जयप्रकाश भण्डारी रहेका थिए । कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताहरू, कर्मचारीहरू, विद्यालयका शिक्षक , कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहायक जिल्ला न्यायाधिवक्ता विजयकुमार रम्तेलले संचालन गरेको कार्यक्रममा नायब सुब्बा होमनाथ कट्टेलले स्वागत मन्तव्य राखेका थिए ।