कोशीका पूर्वमुख्यमन्त्रीले कानुनविपरीत प्रयोग गर्दै आएका सरकारी गाडी फिर्ता गरे
झापा । कोशी प्रदेशका दुई पूर्वमुख्यमन्त्रीले सरकारी गाडी फिर्ता गरेका छन्। प्रदेश सभाका अनुसार पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र उद्धव थापाले गाडी फिर्ता गरेका हुन्।
नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता समेत रहेका राईले कानुनविपरीत सरकारी गाडी प्रयोग गर्दै आएका थिए।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई कोशी प्रदेश सरकारले नै निर्णय गरेर गाडी उपलब्ध गराएको थियो। यद्यपि, सरकारको उक्त निर्णयमा अदालतले रोक लगाएको थियो।
राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश १–०४–००१ झ ००५३ नम्बरको स्कर्पिओ गाडी प्रयोग गरिरहेका थिए। प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा दिने कानुनी व्यवस्था छैन। राईले गत शुक्रबार गाडी फिर्ता गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
राईले भने, ‘सुरुमै मैले फिर्ता गर्न खोजेको थिएँ। तर, पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने गरी कानुन बनाउँछौँ भनेर मलाई सरकारले रोक्यो। गाडी फिर्ता गर्न दिएन। अहिले आएर सरकारले फसायो।’