२०८३ बैशाख १९ गते , शनिबार

बझाङको जङ्गलमा भीषण आगलागी, नियन्त्रणमा कठिनाई

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २ गते , शुक्रबार
बझाङको जङ्गलमा भीषण आगलागी, नियन्त्रणमा कठिनाई

झापा । बझाङको जयपृथ्वी नगरपालिका–१ कैलासस्थित महिला कचहरीकोट सामुदायिक वनमा भीषण आगलागी भएको छ । बुधबार रातिदेखि फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
‘अस्तिदेखि लागेको आगो निभाउने प्रयास जारी छ, गाउँ तिर आगो सारेको छैन जंगलतिर दन्किएको छ,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले भने, ‘स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समिति र प्रहरी आगो निभाउने प्रयासमा जुटिरहेका छन् । तर, दुर्गम भेग, पानीको अभाव र आगो तीव्र रूपमा फैलिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ ।’
हालसम्म आगलागी कसरी र किन भएको भन्ने खुल्न नसकेको स्थानीय नविना सिंहले बताइन् । स्थानीयहरूले मानवीय लापरबाही वा नियोजित रुपमा आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर, घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
आगो विशाल भएको हुँदा नियन्त्रणमा चुनौती थपिएको छ । यदि आगलागी चाँडै नियन्त्रण गर्न सकिएन भने वन्यजन्तुको बासस्थान नष्ट हुने, जैविक विविधतामा ठूलो असर पर्ने र स्थानीय पर्यावरणीय सन्तुलन बिग्रने खतरा रहेको स्थानिय रविन्द्र विकले बताए ।
आगलागी नियन्त्रण गर्न कठिन भएकाले स्थानीयले डिभिजन वन कार्यालय बझाङले सशस्त्र प्रहरीसँग सहयोगको अपिल गरेको छ । उनीहरूले आगलागी नियन्त्रणका लागि थप स्रोतसाधन उपलब्ध गराउन माग गरेका छन् ।
स्थानीयले खबर गरेपछि जिल्लाबाट डिभिजन वन कार्यालय बझाङको टीम र सशस्त्र प्रहरीको टोली उक्त स्थानमा पुगेको छ । टोलीले अहिले आगो नियन्त्रणमा लिएरहेको डिभिजन वन कार्यालय बझाङका निमित कार्यालय प्रमुख जेसन कार्कीले बताए ।

सम्बन्धित समाचार