शिक्षामा क्रान्ति अभियानको जिल्ला समिति गठन
कनकाई । ‘देश बदल्न शिक्षा बदल्नु पर्छ’ भन्ने मुल नाराका साथ शुरु गरिएको शिक्षामा क्रान्ति अभियानको झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
केही समय अघिदेखि सामाजिक सञ्जालमा ‘शिक्षामा क्रान्ति’ का बिषयमा आफ्नो धारणा प्रस्तुत गर्दै आएका शिक्षामा क्रान्ति अभियानका केन्द्रिय संयोजक रेवतराज पुरी (गगन)को उपस्थितिमा देशमै पहिलो पटक झापामा समिति गठन गरिएको हो ।
अभियानले झापाको कनकाईस्थित सुरुङ्गामा रहेको कनकाई बहुमुखी क्याम्पसमा आज (शनिवार) झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । अभियानले सन्तोष राईको संयोजकत्वमा ५१ सदस्य समिति गठन गरेको हो । समितिको समितिको सचिवमा सरस्वती चम्लागाई रहेकी छिन् ।
यसैगरी सदस्यमा लीलाराज झापाली, खड्ग तिम्सिना (पवन), राजकुमार ओली, अनिल सुवेदी, संजय राई, रामकुमार उपाध्याय, डिल्ली पोखरेल, बिष्णु भट्टराई, बिनोद थापा, नविन सिटौला, गणेश राई, रबिन मैनाली, सुवास सुवेदीलगायत ५१ सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरिएको छ ।
अभियानका केन्द्रिय संयोजक पुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कनकाई बहुमुखी क्याम्पसका सञ्चालन समिति सदस्य बिष्णु बिमलीले स्वागत गरेका थिए । समितिमा झापाका १५ वटै पालिकाबाट विद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति, अभिभावकको प्रतिनित्वि हुने गरी नेतृत्व चयन गरिएको छ ।
कार्यक्रममा कनकाई क्याम्पस प्रमुख बिकास उप्रेतीले सर्वसम्मत चयन भएको समितिलाई शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अभियानकी झापा सचिव सरस्वती चम्लागाईले गरेकी थिइन् ।
अभियानले पाठ्यक्रममा परिवर्तन नै अहिलेको शिक्षामा क्रान्ति भएको बताएको छ । अभियानले प्रविधि, जल, कृषि र पर्यटनमैत्री शिक्षा प्रणालीको वकालत गरेको छ ।