२०८३ बैशाख १९ गते , शनिबार

६ बुँदे सहमति भएसँगै अरुण पूर्वको बन्द स्थगित

sajilo news
परिवेश मिडिया
२०८१ माघ २३ गते , बुधबार
६ बुँदे सहमति भएसँगै अरुण पूर्वको बन्द स्थगित

झापा । पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनरत पक्षले आह्वान गरेको अरुण पूर्वको बन्द हाललाई स्थगित गरिएको छ । सरकारी वार्ता टोलीसँग मङ्गलबार ६ बुँदे सहमति भएसँगै बन्द स्थगित गरिएको हो ।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले विरोध गर्दै आएका थिए ।
गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबिच भएको सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।
यस्तै दोस्रो बुँदामा सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने तथा तेस्रो बुँदामा १ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ ।
यस्तै चौथो बुँदामा आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विनाशर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ।
यस्तै सहमतिको पाँचौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने तथा छैटौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुन वार्तामा बस्ने सहमति भएको छ ।
सहमतिपत्रमा वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वता सिंगक (सरु) र सरकारको तर्फबाट सहसचिव प्रेमप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित समाचार