२०८३ बैशाख १९ गते , शनिबार
गोली प्रहार गरी प्रहरीले पक्रियो लागूऔषध कारोबारी
बिर्तामोड । झापामा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । मङ्गलबार साँझ अन्दाजी ६ बजे प्रहरीले कन्काई नगरपालिका ४ मा गोली प्रहार गरी भारत डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलम लाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गर्न खोजेको थियो । पक्राउ गर्ने क्रममा उनीहरु भागेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागूऔषधसहित दुई उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।
एकजनाको घुँडामा गोली लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ । घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ ।