स्वर्गीय पिताको पुण्य तिथिमा विपन्नलाई खाद्यान्न र कपडा वितरण
बिर्तामोड । झापा बिर्तामोड ८ का एक युवाले आफ्नो स्वर्गीय पिताको पुण्य तिथिमा विपन्न परिवारलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेका छन् । स्वर्गीय पिता खड्गबहादुर कार्कीको १३औ दिनको पुण्यतिथिपछि छोरा चिरञ्जीवी कार्कीले ५६ विपन्न परिवारलाई खाद्यान्न र न्यानो लुगा वितरण गरेका हुन् ।
पूर्व जनप्रतिनिधिसमेत रहेका आफ्ना स्वर्गीय पिता खड्गबहादुरको १३औँ दिनको पुण्यतिथि सकेपछि उनले बिर्तामोड–८ का विपन्न र अपाङ्गहरुलाई एक–एक थान ब्लांकेट, ४–४ केजीका दरले चिनी र आटा , ५ केजी चामल र आधा लिटरका दरले खानेतेल वितरण गरेका हुन् । वडा नं ८ मा रहेको १४ वटा टोलका ४ जनाका दरले सामग्री वितरण गरिएको हो । पिताको स्वर्गबासपछि गुरु पण्डितहरुलाई दान दक्षिणा दिएर गर्नुपर्ने धर्मसंगै मानवीय हिसाबले आफूले कर्म निर्वाह गरेको कार्कीले बताए । कार्की गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड ८ बाट वडाध्यक्ष पदका उम्मेदवार थिए ।
खड्गबहादुर साविक गरामनी गाउँ पञ्चायत र गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि हुन् । उनको माघ ७ गते बेलुका ८१ वर्षको उमेरमा निधन भएको थियो । वि.सं. २०४२ देखि २०५४ सम्म साविक गरामनी गाउँ पञ्चायत र त्यसपछि गाउँ विकास समिति वडा नं ४ को उनी लगातार दुई पटक वडाध्यक्ष भएका थिए ।