मेची राजमार्ग बन्द यथावत
बिर्तामोड । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिषयलाई लिएर भएको झडप पछि आह्वान गरिएको मेची राजमार्ग बन्द आज शनिबारपनि यथावत रहेको छ । झापाबाट पूर्वी पहाडी जिल्लाहरुमा जाने यातायातका साधन चलेका छैनन् ।
नो केबलकार समूह र प्रहरी बिच भएको झडपमा ४ जना आन्दोलनकारी घाइते भएपछि माघ १५ गतेदेखि आह्वान गरिएको बन्दको प्रभाव आजपनि परेको छ । मोटरसाइकल र छोटो दुरीका ३ चक्के सवारी चलेपनि लामो दुरीका यातायातका साधन नचलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
लामो समयसम्म सवारी साधन नचल्दा यात्रुहरु बिचल्लीमा परेका छन् । बन्दका कारण व्यवसाय धरापमा पर्न सक्ने भन्दै व्यवसायीहरुले सम्बन्धित पक्षलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । यता, आन्दोलनरत पक्षले चाँडै समाधान ननिस्किए आम हड्ताल गर्ने चेतावनी दिएको छ ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै पहिचानवादीहरुले विरोध गर्दै आएका छन् । तर, निर्माण कम्पनीले काम अगाडी बढाएपछि सो क्षेत्रमा प्रदर्शन र झडप भएको थियो ।