गायिका एलिना चौहानले हालिन् सम्बन्ध विच्छेदको मुद्दा, अंश र माना चामल नलिने
बिर्तामोड । विवाह बन्धनमा बाँधिएको १० महिना नबित्दै चर्चित गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । गत वैशाख ५ गते बिर्तामोडको विर्ता पार्टी प्यालेसमा विष्णु सापकोटासँग भव्य विवाह गरेकी चौहानले काठमाण्डौ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् ।
पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
‘अंश हकदाबी भन्दा पनि सम्बन्धविच्छेद भए मात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।’
उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्। सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।
‘निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु,’ उनले लेखेकी छिन् ।
उनले भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्धविच्छेदको प्रक्रिया अघि बढ्छ ।’
विष्णु भने अहिले अस्ट्रेलियामा छन् ।
उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।
विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।
पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।