संशोधन विधेयक : बाबुको पहिचान नखुलेको स्वघोषणा गरे वंशजको नागरिकता पाउने
काठमाण्डौ । सरकारले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न’ विधेयक दर्ता गराएको छ । मंगलबार गृहमन्त्री रमेश लेखकले विधेयक दर्ता गराएका हुन् । दर्ता भएको विधेयकको मस्यौदामा बाबुको पहिचान नखुलेको कुनै व्यक्तिले स्वः घोषणा गरे वंशजको नागरिकता पाउने प्रस्ताव गरिएको छ।
‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ‚’ विधेयक मस्यौदामा लेखिएको छ ।
यस्तै दर्ता भएको विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भएको तर‚ नेपालमा बसोबास गर्ने व्यक्तिले पनि अङ्गीकृत नागरिकता पाउने प्रस्ताव गरिएको छ । यसका लागि कुनै व्यक्तिले विदेशको नागरिकता वा राहदानी नलिएको हुनुपर्ने मात्र होइन बाबुको पहिचान नभएको पनि स्वघोषणा अनिवार्य गर्नुपर्ने उल्लेख छ।
विधेयकको आर्थिक टिप्पणी उठाउँदै गृह मन्त्री रमेश लेखकले नागरिकता प्रदान गर्ने विषयमा अदालतमा मुद्दा परेको तथा ती मुद्दामा भएका अदालतका आदेशलाई कार्यान्वयन गर्नुपर्ने भएकाले संशोधन विधेयक दर्ता गरिएको उल्लेख छ ।
‘विद्यमान नेपाल नागरिकता ऐन, २०६३ बमोजिम गृह मन्त्रालय मातहतका निकायहरूबाट नेपाली नागरिकलाई नेपाली नागरिकता प्रमाणपत्र वितरण हुँदै आएकोमा नेपाली नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई नेपालको नागरिकता प्रदान गर्न तथा सम्मानित सर्वोच्च अदालत सहितका अदालतबाट विभिन्न मुद्दामा जारी भएको आदेशको कार्यान्वयन गर्न नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्नु परेको हो‚’ गृह मन्त्रीले लेखकले आर्थिक टिप्पणीमा लेखेका छन् ।