फोनिज झापाद्वारा तीन पत्रकार पुरस्कृत हुँदै
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । फोनिजले पत्रकारहरु बिष्णु सुब्बा, रबिकिरण वान्तावा र सजन राईलाई पुरस्कृत गर्न लागेको हो ।
फोनिजले वितरण गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ झापाका अग्रज पत्रकार बिष्णु सुब्बालाई गर्न लागेको हो ।
अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिइन् ।
झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताइन् । उनी राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत छन् ।
पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । उक्त पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ रहेको छ ।
त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिए । उदीयमान पत्रकारिता पुरस्कारको राशि ५/५ हजार रूपैयाँ रहेको छ ।
३ वटै पुरस्कार २०८१ माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।