जन्मोत्सवमा विपन्न समुदायका बच्चालाई न्यानो कपडा वितरण
बिर्तामोड । बिर्तामोड–५ कि सिता चुडाल सुवेदीलाई आफ्नो छोराको प्रस्तावले समाजसेवा गर्न प्रेरित गरेको छ । केही महिना अघि १० बर्षीय छोरा स्वर्णिम सुवेदीले जन्मदिन केक काटेर नभई बृद्धाश्रममा मनाउने भनेर छोराले प्रस्ताव राखेपछि बृद्धाश्रममा गएर बृद्धबृद्धालाई खाना खुवाएकी उनलाई आफ्नो जन्मदिन पनि केक काटेर मन लागेन । उनी आफ्नो खुशी बाँड्न बालबच्चालाई न्यानो कपडा लिएर सोमबार बिर्तामोड–१० स्थित मधुपोखरीमा पुगिन् । त्यहाँ उनले विपन्न तथा दलित समुदायको बसोबास रहेको सो बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गरिन् ।
कपडा वितरणका क्रममा सिताले भनिन्–‘ममी केक काटेर जन्मदिन मनाउने होइन्, गरिब दुखीलाई सहयोग गरेर मनाउनु पर्छ, उनले थपिन्, ‘१० वर्षको छोराले भनेको उक्त कुराले मेरो मन छोयो र नै यहाँ आइपुगे, यसका लागि समन्वय गर्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’
आर्थिक विपन्नताका कारण चिसोमा समस्या खेपिरहेका स्थानीयलाई लत्ता कपडा लिएर आफ्नो टोलमा यस अघि कोहि नआएको बताउँदै स्थानीय बिनोद दर्जीले सुवेदीलाई धन्यवाद दिए ।
मधुपोखरी टोल विकास संस्थाका अध्यक्ष तुलसी सुवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रममा वडाध्यक्ष गुरुङले वडा नं. १० मा चुडाल परिवारको सद्भाव पहिलेदेखि नै रहेको उल्लेख गर्दै सामाजिक कार्यप्रतिको मोह अझ बढेर जाने विश्वास व्यक्त गरे ।
सुवेदीले जन्मोत्सवको अवसर पारेर ३० जना विपन्न तथा दलित समुदायका बालबालिकालाई २० हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरेकी थिइन् ।
सो अवसरमा बिर्तामोड नगरपालिका वडा नं. १० की वडासदस्य दिपीका शिवा, सुवेदीका श्रीमान् बालकृष्ण, दिदी धनमाया चुडाललगायतको उपस्थिति रहेको थियो ।