२०८१ माघ ४ गते , शुक्रबार
क्रिकेट हेर्न गएका ६ जना घाइते, दुई प्रहरी गम्भीर
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल हेर्न गएका ६ जना दर्शक घाइते भएका छन् । टिकट काटेरपनि मैदान छिर्न नपाएपछि विरोध गर्ने क्रममा धकेलाधकेल हुँदा ६ जना घाइते भएका हुन् ।
खल्ती एपबाट टिकट काटेर पनि मैदान छिर्न नपाएपछि दर्शकहरुले टिकट काउन्टरमा विरोध जनाएका थिए ।
विरोधका क्रममा प्रहरी र दर्शकबीच धकेलाधकेल भएको थियो । धकेलाधकेलबाट फलामको गेट पल्टीदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था सामान्य रहेको छ भने दुईको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका अजय तामाङ र दानबहादुर राउत दुवै प्रहरी हुन् । तामाङको बाँसबारीस्थित न्युरो अस्पताल र राउतको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।