बिर्तामोड नगर अस्पतालमा प्रसुती गराउनेको संख्या बढ्दै

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा प्रसुती गराउनेको संख्या बढ्दो छ । चालु आवको असोज १८ गतेसम्ममा १९ जनाले प्रसुती सेवा लिएका छन् ।
गत बर्ष ७० जनाले नगर अस्पतालमा प्रसुती सेवा लिएका थिए । अस्पतालमा निशुल्क र सहज सेवा, सरसफाई, तालिम प्राप्त स्वास्थ्यकर्मी र सुविधायुक्त प्रसुती कक्षका कारण सेवाग्राहीको रोजाईमा नगर अस्पताल पर्ने गरेको बर्थिङ सेन्टर इञ्चार्ज ओमकुमारी गुरुङले जानकारी दिइन् । अस्पतालमा २४सै घण्टा प्रशुती सेवा उपलब्ध हुनुका साथै प्रसुती गराएपश्चात १ हजार यातायात खर्च र प्रोटोकल अनुसार (८ पटक) गर्भ जाँच गराएको भए थप ८ सय रुपैँया र आमाको लागि म्याक्सी, बच्चाको लागि २ वटा टोपी, भोटो, दौरा, सुरुवाल, र्यापर र युरिन म्याटसहितको न्यानो झोलासमेत उपलब्ध गराइने उनले बताइन् ।
अस्पतालमा जिल्लामै सबै भन्दा धेरै १० जना तालिमप्राप्त प्रसुतीकर्मी रहेको गुरुङले जानकारी दिइन् । नगर अस्पतालमा एकै पटक दुई जनालाई प्रसुती गराउन मिल्ने सुविधायुक्त लेबर रुम, पाँच जना बिरामी राख्न मिल्ने वाड रहेको छ ।
सो सेन्टरमा उपचारका लागि लामो समयदेखि आङ खस्ने समस्या भएका महिलाहरु समेत आउने उनको भनाई छ । उनका अनुसार हाइप्रोफाइल परिवारका सदस्यहरु समेत अस्पतालमा आङ खस्ने समस्याको उपचार गराउन आउने गरेका छन् । सेवाग्राहीले दिने धन्यवाद र आशिर्वादले आनन्दको अनुभूति हुने गरेको उनी बताउँछिन् ।