पालिकाको उदासिनताले बिर्तामोडका सयौँँ व्यवसायी करको दायराभन्दा बाहिर
बर्षेनी लाखौँ राजश्व गुमाउँदै पालिका
बिर्तामोड । पूर्वकै प्रमुख व्यापारिक शहर बिर्तामोडका सयौँ व्यवसायी करको दायराभन्दा बाहिर छन् । उनीहरुलाई करको दायरामा ल्याउन देखाएको उदासिनताका कारण बर्षेनी नगरपालिकाले लाखौँ राजश्वसमेत गुमाइरहेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रियामा बोल्दै संघका अध्यक्ष राजु न्यौपानेले समेत हजारौँ व्यवसायी करको दायराभन्दा बाहिर रहेको बताएका छन् । उनीहरु सबैलाई नगरपालिकाले करको दायरामा ल्याउन सके करको दरसमेत घटाउन सकिने उनको धारणा थियो ।
बिर्तामोड नगरपालिकालाई यस बिषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको नाम उल्लेख नगर्ने शर्तमा बिर्तामोडका एक व्यवासायीले बताए । ‘बिर्तामोडमा सयौँ व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय गरिरहेका छन्,’ उनले भने, ‘सानो पूँजीले व्यवसाय गर्नेलाई नगरपालिकाले अनिवार्य व्यवसाय दर्ता गराउँछ तर ठूलालाई चासो दिँदैन, यस बिषयमा हामीले पटक पटक भन्दापनि नगरपालिकाले वास्ता गरेन ।’
व्यवसाय कर सम्बन्धि कार्यविधि २०७६ मा समेत व्यवसाय सञ्चालन गर्न स्थानीय पालिकामा अनिवार्य व्यवसाय गर्नुपर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु पालिकामा दर्ता भई सञ्चालनमा आएको भएपनि मेनपावरका शाखा कार्यालयहरु बिना दर्ता खुलेआम सञ्चालित छन् ।
मेनपावर र शैक्षिक परामर्श केन्द्रहरुबाट मात्र बिर्तामोड नगरपालिकाले व्यवसायीक र घरबहाल करबापत बर्षेनी करिब ५० लाख राजश्व गुमाईरहेको छ ।
देखिने गरी बोर्ड नै राखेर बिर्तामोडमा सञ्चालित करिब एक सय मेनपावर र सयौँको संख्यामा रहेको शैक्षिक परामर्श केन्द्रहरु पालिकामा व्यवसाय दर्ता बिना नै सञ्चालित छन् । उनीहरुले बर्षेनी लाखौँको कारोबार गर्दै आएका छन् तर उनीहरुलाई व्यवसाय दर्ता गराउन नगरपालिकाले कुनै पहल गरेको छैन ।
बिर्तामोडमा बाहिर एउटा बोर्ड देखाएर भित्र थुप्रै फर्ममार्फत व्यवसाय गर्ने व्यवसायीहरु सयौँ छन् । तर नगरपालिकाले अनुगमन नगर्दा उनीहरुले बर्षेनी लाखौँ राजश्व छलिरहेका छन् ।