झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड । झापामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी ४ गते आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयबाट सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारीहरु आवश्यक सामाग्रीसहित मतदान केन्द्र तर्फ गइसकेको र साँझसम्ममा पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद नेपालले जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकारी नेपालका अनुसार मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटीका लगायत आवश्यक सामग्रीहरु निर्वाचन अधिकृतको कार्यालयमार्फत केन्द्रमा पठाइसकेको छ । जिल्लाका ७६८ मतदान केन्द्रहरुमा आवश्यक सामाग्री अलग–अलग प्याकेजिङ गरेर पठाइएको छ । यसअघिका निर्वाचनमा जिल्लाबाटै केन्द्रहरुमा सामग्री वितरण गरिन्थ्यो भने यो निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयहरुबाट केन्द्रहरुलाई सामग्री प्रदान गरिएको छ । जिल्लामा मतदान प्रक्रियाका लागि ७ हजार कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।
झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेका छन् । सो संख्यामा महिला पुरुष बाहेक ८ जना अन्य रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । स्थानीय तहको निर्वाचन २०७९ पछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । झापाको सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ५ मा छन् भने सबै भन्दा कम मतदाता क्षेत्र नम्बर १ मा रहेका छन् ।