२०८३ बैशाख १८ गते , शुक्रबार

ऋषि बने बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ८ गते , मंगलबार
ऋषि बने बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री

एजेन्सी । संयुक्त अधिराज्य बेलायतमा ऋषि सुनक नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। कन्जरभेटिभ सांसद सुनकलाई मंगलबार बेलायतका राजा चार्ल्सले प्रधानमन्त्री नियुक्त गरेका छन्।
उनी प्रधानमन्त्री बनेसँगै बेलायतमा पहिलो पटक हिन्दु धर्मालम्बी प्रधानमन्त्री बनेका छन्। २०१७ को आमनिर्वाचनपछि उनले हिन्दु धार्मिक ग्रन्थ गीतामा हात राखेर सांसदको सपथ लिएका थिए।
‘मेरो आस्थाले मलाई शक्ति दिन्छ, जीवनको उद्देश्य दिन्छ र यो म को हुँ भन्ने कुराको एक भाग हो,’ उनले भनेका छन्।
दुई वर्षअघि अर्थमन्त्री हुँदा दीपावलीको अवसरमा  ऋषिले नम्बर ११ डाउनिङ स्ट्रिटमा दीप प्रज्वलन गरेका थिए।
बेलायती प्रधानमन्त्री भएपछि ऋषिका नाममा अन्य थुप्रै रेकर्ड बनेका छन्।
राजा चार्ल्सले प्रधानमन्त्री नियुक्त गरेका ऋषि पहिलो व्यक्ति हुन्। यसअघिकी प्रधानमन्त्री लिज ट्रस महारानी एलिजाबेथबाट नियुक्त भएकी थिइन्। आमाको निधन भएपछि चार्ल्स केही साताअघि मात्रै राजा बनेका थिए।

बितेका दुई  शताब्दीमा ४२ वर्षको उमेरमा बेलायतको प्रधानमन्त्री हुने ऋषि पहिलो व्यक्ति हुन्। सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्षको उमेरमा बेलायती प्रधानमन्त्री भएका थिए। त्यसपछि यति कम उमेरमा कोही पनि बेलायती प्रधानमन्त्री भएका थिएनन्। बेलायतका सबैभन्दा कान्छा प्रधानमन्त्रीको इतिहास विलियम पिटका नाममा छ। उनी २४ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए। सन् १७५९ मा जन्मेका उनी सन् १७८३ मा प्रधानमन्त्री बनेका थिए।
ऋषि बेलायतका पहिलो अश्वेत प्रधानमन्त्री हुन्। यसअघि जहिले पनि श्वेतहरू मात्र बेलायतका प्रधानमन्त्री बनेका थिए। उनी बेलायतको प्रधानमन्त्री हुने पहिलो एसियाली र भारतीय मूलका व्यक्ति हुन्। उनको भारतसँग पुर्ख्यौली साइनोमात्र होइन अहिले पनि पारिवारिक सम्बन्ध छ।
उनकी श्रीमती भारतीय अर्बपति नारायण मुर्तीकी छोरी अक्षता मुर्ति हुन्। अक्षता र ऋषिले सन् २००९ मा भारतको बैंग्लुरूमा विवाह गरेका थिए।

सम्बन्धित समाचार