मेमोरी किङ्ग अर्पण शर्माले तोडे आफ्नै विश्व रेकर्ड
बिर्तामोड । मेमोरी किङ्ग अर्पण शर्माले यस अघिको आफ्नै रेकर्ड तोडेर नयाँ विश्व रेकर्ड कायम गरेका छन । उनले स्मरण शक्तिको विधामा नयाँ विश्व रेकर्ड कायम गरेका हुन् ।
युवाहरु माझ लोकप्रिय अर्पणले यसअघि सन् २०१५ मा पहिलो विश्व रेकर्ड कायम गरेका थिए । शर्माले सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । यसपटक शर्माले आफ्नै पुरानो रेकर्ड तोडेर १ मिनेटमा ८३ वटा वस्तुहरुको क्रम स्मरण गरेर विश्व रेकर्ड कायम गरेका हुन् । उनी यो विश्व रेकर्डको श्रेय आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् ।
शर्मालाई विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको वर्ल्ड बुक अफ रेकर्ड्सको कार्यालयले उपलब्ध गराएको छ । उनले त्यसलाई सार्वजनिक गरेका छन् ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व मा चिनाउँदै जाने शर्माले बताए ।