२०८३ बैशाख १८ गते , शुक्रबार
चारआली जंगलमा फेला परेको शवको पहिचान अझै खुलेन
बिर्तामोड । शुक्रबार बिर्तामोड–चारआली सडकखण्ड अन्तर्गत कालिझोडा चोक नजिकै जंगलमा फेला परेको महिलाको शवको पहिचान अझै खुल्न सकेको छैन ।
सड्न लागेको अवस्थामा करिब ४० बर्षको महिलाको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव कालो वर्णको रहेको, शरिरको माथिल्लो भागमा भित्री बस्त्रमात्र रहेको, कम्मर मुनिको भागमा लुङ्गी लगाएको, दुवै हातमा शंखेकिराको आकृतिभएको चुरा लगाएको, एउटा चप्पल खुट्टामा र एउटा शवको नजिकै रहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि धरान पठाइएकोले रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।