माछा उत्पादनमा आत्मनिर्भर बन्दै झापा
बिर्तामोड । पछिल्लो समय झापा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेको बताइएको छ । बिर्तामोडमा विहिबार आयोजित मत्स्यपालक कृषकहरुको कार्यक्रममा सहभागी मत्स्यपालक कृषकहरुले माग अनुसार माछा उत्पादन हुँदै गइरहेको बताएका हुन् ।
नेपाल माछा पालन किसान संघ प्रदेश नम्बर १ र जिल्ला समिति झापाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा अहिले सञ्चारमाध्यममा व्यवसायीले ‘झापामा उत्पादित माछाले बजार मागको २० प्रतिशतपनि पूर्ति नगर्ने’ भन्ने जस्ता कुरा भ्रामक भएको बताइएको छ । पंगास जातको माछा झापामा माग भन्दा बढी उत्पादन भएको नेपाल माछा पालन किसान संघ प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटीले जानकारी दिए । उनका अनुसार झापा कार्प जातका माछामा समेत आत्मनिर्भर बन्ने तर्फ अगाडी बढिरहेको छ ।
कृषिथोक बजारमा रहेका माछा व्यापारीहरुले विषादीयुक्त मरेको भारतीय माछाको बिक्री गर्नुपर्ने माग राखेको र बजारमा कृतिम अभाव देखाउन विगत दुई दिनदेखि किसानसँग माछा नकिनेको नेपाल माछा पालन किसान संघ जिल्ला समिति झापाका अध्यक्ष होम सिटौलाले बताए । किसानहरुले नेपाल मै उत्पादन भएको जिउँदो माछा भारतीय माछा भन्दा सस्तो मूल्यमा दिँदासमेत व्यापारीहरु अस्वस्थ्यकर माछा नै बेच्न पाउनु पर्ने माग किन राखिराखेका छन्? भन्दै सिटौलाले आश्चर्य व्यक्त गरे ।
कार्यक्रममा सहभागी रारा कृषि फर्मका सञ्चालक कपिल न्यौपानेले वैधानिक तवरबाट भारतीय माछा नेपाल ल्याउँदा नेपाली जिउँदो माछा भन्दा महंगो पर्ने बताए । भारतीय माछाहरु भारतीय सीमा नजिकको बजारमा ल्याएर ग्रेडिङ गरिने र सड्न लागेको माछा सस्तो मूल्यमा अवैध ढंगबाट नेपाल भित्र्याइने गरेकोसमेत उनले बताए । उनले पैसाको लोभमा व्यापारीले जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको गुनासो गरे ।
व्यापारीले भनेजस्तो कार्प जातको माछा झापाका कम उत्पादन भएपनि अन्य जिल्लाहरुमा प्रशस्त उत्पादन भइरहेकोले भारतीय मरेको, फर्मालिनयुक्त अस्वस्थ्यकर माछाको साटो नेपालमै उत्पादित जिउँदो माछा बिक्री गर्न व्यवसायीहरुलाई कार्यक्रममा सहभागी किसानहरुले आग्रह गरे ।
व्यापारीहरुले कृतिम अभाव सिर्जना गरिरहे किसानहरु आफैँले कृषिथोक बजारमा स्टल राखेर माछा बिक्री गर्ने वरिष्ठ उपाध्यक्ष शिवाकोटीले जानकारी दिए ।
बाह्रदशीस्थित मोनिला मत्स्य फार्मका सञ्चालक रुद्रबहादुर बिष्टले किसानमाथि व्यवसायीहरुले सिण्डिकेट खडा गरेको गुनासो गरे । नेपाली किसानहरुलाई व्यापारीहरुले निरुत्साहित गर्न खोजेको उनले बताए । व्यापारीहरुमा राष्ट्रिताप्रतिको भावना हुनुपर्ने उनको भनाइ छ ।
झापामा करिब ५ सय मत्स्यपालक किसानहरु रहेको बताइएको छ ।