पत्रकारहरुलाई निष्पक्ष समाचार सम्प्रेषण गर्न सुझाव
बिराटनगर । पत्रकारिता पेशालाई मर्यादित र स्वच्छ बनाउँदै पत्रकारहरुले निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने मंगलबार प्रदेश नं. १ को विराटनगरमा सम्पन्न भएको प्रदेशस्तरीय कार्यशालाका सहजकर्ताहरुले जोड दिएका छन् ।
मिडिया एक्सन नेपालद्वारा आयोजित पत्रकारहरूलाई निस्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम बिषयक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरुले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा निष्पक्ष भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न सुझाएका हुन ।
उनीहरुले घृणायुक्त अभिव्यक्ति र दुष्प्रचारबाट बच्नुपर्नेमा समेत जोड दिइएका छन् ।
मिडिया एक्सन नेपालका अध्यक्ष एवम् सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनको बेला पत्रकारले चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनी भन्छन्–‘पत्रकारले अड्कलबाजी गरेर उम्मेदवारको पक्षपोषण गर्नु पत्रकार आचारसंहिता विपरीत हो ।’ उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्ने बताए । उनले समाचार संकलनका क्रममा हुन सक्ने विषयमा चनाखो बन्नु पर्ने र यस्तो अवस्थामा राजनीतिक दल तथा उम्मेदवारले प्रभावित बनाएर समाचारमा प्रभाव पार्न सक्ने भएकाले सचेत बन्नु पर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा प्रशिक्षक प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसालले निर्वाचनको समयमा पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहितालाई पनि गम्भिरतापूर्वक पालना गर्नु पत्रकारहरुको कर्तव्य भएको उल्लेख गरे । उनले काउन्सिलले सबै सञ्चारमाध्यमको अनुगमन गरिरहेकाले जिम्मेवार बनेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले पत्रकारले भ्रामक समाचार लेख्न नहुने धारणा ब्यक्त गरे ।
त्यस्तै मानव अधिकार विज्ञ यामबहादुर दुराले निर्वाचनको तीन वटा चरण अन्र्तगत निर्वाचन अघि, निर्वाचनको दौरान र निर्वाचन पश्चात् गरिने समाचार सम्प्रेषणमा सचेत हुनुपर्ने बताए । उनले निर्वाचन र मानव अधिकार संगसंगै जोडिने भएकाले त्यस अवस्थामा समाचार संकलन गर्दा हरेक विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
आयोजक मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रिंयका झाले निर्वाचनका सिद्धान्तहरु भनेको नै निष्पक्ष, स्वतन्त्र, त्रास रहित र सबैको पहुँचमा निर्वाचन हुनुपर्ने भएको हुँदा कोही पनि छुट्नु नहुने बताएकी छिन् । उनले महिलालाई यस्तो अवस्थामा गलत अफवाह फैल्याएर निरुत्साहित बनाउन सक्ने भएकाले सञ्चार माध्यम लैङ्गिक सवालका विषयमा सचेत बन्नु पर्ने बताइन् । उनले अपाङ्ग, गर्वभती महिला, ज्येष्ठ नागरिक लगायतका सवाललाई पनि सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा अध्यक्ष पन्तले निर्वाचनको निष्पक्ष मिडिया कभरेज नैतिकता र व्यावसायिकताको सवाल, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत भुसालले पत्रकारहरुको आचारसंहिता, मानव अधिकार विज्ञ दुराले निर्वाचनमा स्वच्छ समाचार सम्प्रेषण र मानव अधिकारको सवाल तथा उपाध्यक्ष झाले दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको न्यूनिकरण र रोकथामलगायतका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश नं. १ का झापा, मोरङ र सुनसरीका पत्रकारको सहभागिता रहेको कार्यक्रम सञ्चालक नरेन्द्र ढकालले जानकारी दिए ।