बिर्तामोडको ‘नगर विकास योजना पुस्तिका २०७९’ सार्वजनिक
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ‘नगर विकास योजना पुस्तिका २०७९’ सार्वजनिक गरेको छ । पालिकाले सोमवार पत्रकार सम्मेलन गरी सो पुस्तिका सार्वजनिक गरेको हो ।
असार २२ गते सम्पन्न दोस्रो नगरसभाको प्रथम अधिवेशनबाट पारित आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम पुस्तिकामा समेटिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेसहित १० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सो पुस्तिका सामूहिक रुपमा सार्वजनिक गरेका हुन् ।
सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले सर्वसम्मत रुपमा चालु आर्थिक वर्षको लागि नीति, बजेट तथा कार्यक्रम तयार गरेको बताइन् । उनले सो बजेट कार्यान्वयन हुने प्रतिवद्धता पनि जनाइन् । प्रमुख महताराले सञ्चारकर्मीहरुले सोधेको प्रश्नको उत्तरसमेत दिएकी थिइन् ।
निर्वाचन आचारसंहिताका कारण विगतमा जस्तो दलका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम गर्न नसकिएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । विगतका बर्षहरुमा दलका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम हुने र उनीहरुबाट टिप्पणी माग गर्ने गरिएको थियो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले ठेक्का प्रक्रियामार्फत काम लगाउँदा समयमा काम सम्पन्न नहुने र त्यसको अपजस जनप्रतिनिधीले लिनुपर्ने भन्दै वडास्तरीय योजनाहरु उपभोक्ता समितिमार्फत काम लगाउन आग्रह गरे ।
नगरपालिकाले टोल विकास संस्था तथा वडा समितिलाई परिचालन गर्दै आफ्नो टोलको घर बहाल कर संकलन गर्ने र त्यसरी संकलित करको केहि प्रतिशत रकम सोहि टोल विकासमा खर्च गर्ने नीति अवलम्बन गरेको छ । त्यस्तै पालिकाले सिनेमा हल, पार्क, मेला तथा सांगीतिक कार्यक्रमहरुबाट मनोरञ्जन कर उठाउने व्यवस्था कार्यान्वयन गर्ने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष ०७९/०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँको (सामाजिक सुरक्षाको बजेट समेत) बजेट प्रस्ताव गरिएको छ । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाँडफाँटबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय ९० प्राप्त हुनेछ भने संघीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव गरिएको छ । चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशु विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्गको लागि बजेट बिनियोजन गरिएको छ । पुँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशु विकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत संभार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरी प्रस्ताव गरिएको छ ।