मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय अनिश साउदेन र सोही गाउँपालिका वडा नम्बर ६ का मे ३ प ५५८० नम्बरको मोटरसाइकलका चालक ४३ वर्षीय भोलाराज भुजेल रहेको प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूको बिएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
भुजेलको श्रीमती चन्द्रकला र छोरी प्रशन्ना गम्भीर घाइते भएका छन् । उनीहरुको खुट्टा भाँचिएको छ । उनीहरुको उपचार भइरहेको प्रहरीको भनाइ छ ।