वृद्धाश्रममा आश्रित वृद्ध श्रेष्ठद्वारा मन्दिरलाई ३ लाख सहयोग
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) मा आश्रित चन्द्रबहादुर श्रेष्ठले सोहि स्थानमा निर्माणाधिन मन्दिरलाई आर्थिक सहयोग गरेका छन् । श्रेष्ठले मेघाबारी टोलमा निर्माणाधिन गणेश मन्दिर निर्माणका लागि तीन लाख रुपैँया नगद सहयोग गरेका हुन् ।
९३ बर्षीय श्रेष्ठले निर्माण समितिका संयोजक भोलानाथ गुरागाईलाई वुधबार केन्द्रमा नगद हस्तान्तरण गरेका हुन् । श्रेष्ठले जन्मिएपछि मरिने हुँदा जाँदा जाँदै पुण्यका लागि भगवानको नाममा सहयोग गरेको बताए । १९८६ साल वैशाख १५ गते दोलखाको माघा देउरालीमा जन्मिएर मेचीनगर नगरपालिका ३ धुलाबारीमा स्थायी बसोबास गर्दै आएका श्रेष्ठ करिब ७ बर्षदेखि उक्त अनुसन्धान केन्द्रमा बस्दै आएका छन् ।
श्रेष्ठले आफु बसेको केन्द्रको निर्माण कै लागि ७ लाख ६ हजार एक सय रुपैँया नगद र २ लाख ११ हजार ३१० रुपैँया बराबरको सेराजिम मेसिन सहयोग गरेका थिए । वुधबार नै उनले केन्द्रका संरक्षक विक्रम मादेनलाई थप ५० हजार रुपैँया नगद सहयोग हस्तान्तरण गरे ।