शीर्ष नेताहरुको दशैं : प्रचण्ड र देउवाको निधार खाली
बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् ।
प्रचण्ड पुत्री गंगा दाहालले दशैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् । उक्त फोटोमा प्रचण्डपनि छन् तर उनको निधार खाली छ । शान्ति प्रक्रियामा आएपछि प्रचण्डले उनका बुवा मुक्तिराम दाहालसँग टीका लगाएका थिए तर अहिले उनका बुवाको निधन भइसकेको छ ।
यता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका र अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा टीका ग्रहण गरेका छन् । तीन दिनअघि घर गएका ओलीले दमकस्थित निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा ९१ वर्षीय बुवा मोहनप्रसाद ओली र ठूलीआमा हरीमाया ओलीको हातबाट टीका ग्रहण गरेका हुन् । उनीसँगै पत्नी राधिकाले पनि बुबाको हातबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन्।
दमकस्थित घरमा बुवाको हातबाट टीका लगाएका ओलीले सर्वसाधारणलाई समेत टीका लगाईदिएका थिए । आजै ओली काठमाण्डौ फर्किएर राष्ट्रपतिको हातबाट समेत टीका ग्रहण गरेका छन् ।