पूर्व आउँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु
मकवानपुर । काठमाण्डौबाट झापाको दमकतर्फ आउँदै गरेको बस गएराति हेटौंडाको चुरियामाईमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिँदा अन्य ३७ जना घाइते भएका छन् ।
काठमाडौंबाट यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी–८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक–५ मोडेल क्याम्पस नजिक बस्ने बर्ष ६० को डिल्लीबहादुर दर्जी रहेका छन् ।
उनीहरुको उपचारका क्रममा चुरेहिल अस्पताल र हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै दुर्घटनामा खोटाङ काडबेसी घर भई हाल सुनसरी ईटहरी–९ खनार बस्ने बर्ष २२ को चन्डिकाप्रसाद दाहाल, सुनसरी धरान–१७ बस्ने बर्ष ३८ को सुमन बराइली, मोरङ सुन्दरहरैचा–६ बस्ने बर्ष २५ को विशाल गुरुङ घाइते भएकोले चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।
त्यसैगरी ललितपुर महालक्ष्मी–८ लुभु बस्ने बर्ष–५० को चक्र बहादुर बस्नेत र उनकी छोरी बर्ष १७ कि दिव्या बस्नेतको काठमाण्डौंस्थित बि एण्ड बि अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए । ताप्लेजुङ सिकैचा–३ बस्ने बर्ष २४ को टंकबहादुर खड्का, इलाम चुलाचुली–१ बस्ने बर्ष ४० कि माया अधिकारीको हेटौंडा स्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ ।