मिलनसार साकोसको तेह्रौँ साधारणसभा सम्पन्न
बिर्तामोड । बिर्तामोड-५ मा अवस्थित मिलनसार बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार अर्जुनधाराको सालबारीमा साधारणसभा सम्पन्न भएको हो ।
साकोसले गत आर्थिक बर्षमा ३७ लाख ९ हजार १९४ रुपैयाँ खुद नाफा भएको जनाएको छ । २०६६ सालमा ४१ जना सदस्यबाट शुरु भएको साकोसमा हाल दुई हजार ४९९ जना शेयर सदस्य रहेको अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । एक हजार ६०८ जना पुरुष र ८२७ जना महिला सदस्य रहेको साकोसको २ करोड ५३ लाख १५ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको संस्थाले जनाएको छ । आगामी बर्ष सदस्य वृद्धि गरि तीन हजार पुर्याउने साकोसको लक्ष्य रहेको अध्यक्ष बास्कोटाले बताए ।
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रका बिचपनि संस्थाले गत आवमा १९ लाख ६० हजार रुपैयाँ शेयर थप गर्न सफल भएको साकोसका सचिव दिनोज बजगाइँले जानकारी दिए । साकोसको मेरुदण्डको रुपमा रहेको जगेडा कोषमा ५३ लाख ८६ हजार ५४३ रुपैयाँ रहेको उनले बताए ।
'सुरक्षित बचतका लागि सहकारी, आत्मनिर्भर र रोजगारी' भन्ने नाराका साथ संस्थाले अगाडी सारेको बचत कार्यक्रमबाट आवको अन्त्यसम्ममा ४ करोड २२ लाख ९९ हजार ४५ रुपैयाँ बचत जम्मा बाँकी रहेको उपाध्यक्ष अजयकुमार देवले जानकारी दिए । हाल ७ करोड ५० लाख ३७ हजार ८३२ रुपैयाँ लगानी रहेको उनले बताए । साकोसले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट गरि ६० लाख ८२ हजार ६८४ रुपैयाँ बाह्य ऋण रहेको उपाध्यक्ष देवले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ताको तर्फबाट खगेन्द्र दनुवार, सोमबहादुर राई र गुलाब रिजाललाई नगदसहित सम्मान पत्रले सम्मानित गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणीहरु मध्ये बिनोद महतो, डिल्लीराम कोइराला र साबित्रा खड्का क्षेत्रीलाई सम्मान गरिएको थियो । कर्मचारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बजार प्रतिनिधि सुजाता खरेललाई सम्मान गरिएको थियो ।
साकोसले आइएमई, हिमाल, वेष्टर्न, समसारा र आइपेलगायतको रेमिटको सेवा समेत दिँदै आएको लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्रप्रकाश बास्कोटाले जानकारी दिए । साकोसले गत आवमा सदस्यको मृत्यु तथा दुर्घटना उपचार खर्चबापत पाँच जना सदस्यलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए ।
साकोसका अध्यक्ष बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी तथा बिशिस्ट अतिथि बिर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्लिराम दाहाल रहेका थिए । कार्यक्रममा नयाँ उज्यालो साकोसका अध्यक्ष सुष्मा पौडेल, बुद्धनगर साकोसका ब्यवस्थापक देविभक्त आचार्य, बिर्तामोड ५ का वडा सदस्यहरु दुर्गा शिवाकोटी, ओमभक्त सेडाईँ, साना मझौला साकोसका चन्द्रकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।