मास लाइटले झलमल्ल कनकाई
बिर्तामोड । उज्यालो अभियानअन्तरगत कनकाईमा जडित मास लाइट सञ्चालनमा आएको छ । आठौ संविधान दिवसको अवसर पारेर सोमबार साँझबाट लाइट सञ्चालनमा ल्याइएको हो ।
कनकाईको कोटीहोम, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान गरिएको छ । लाइटको सोमबार नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने लगायतले उद्घाटन गरेका हुन् ।
नगरपालिकाको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा ४ थान मास लाईट जडान गरिएको छ । सुरुङ्गामा जडान गरिएको मास लाईट उदघाटनपछि बोल्दै नगरप्रमुख पोखरेलले दसै तिहार लगायतका चाडपर्वको समयमा मास लाईटबाट नगरबासीलाई थोरै भएपनि सुविधा पुग्ने विश्वास व्यक्त गरे । सोह्र मिटर अग्लो पोलमा जडान गरिएको स्वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिने बताइएकोछ । यो मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गरिएको हो । नगरपालिका र विद्युत प्राधिकरणको लागत साझेदारीमा लाइट जडान गरिएको नगरपालिकाले जनाएको छ ।