२०८३ बैशाख १९ गते , शनिबार

नेपाल ट्रेड कन्सर्नबाट ठगिएको भन्दै पिडितद्वारा क्षतिपूर्तिको माग

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २८ गते , मंगलबार
नेपाल ट्रेड कन्सर्नबाट ठगिएको भन्दै पिडितद्वारा क्षतिपूर्तिको माग

बिर्तामोड । बिर्तामोडस्थित नेपाल ट्रेड कन्सर्नद्वारा ठगिएको भन्दै अटो पिडितहरुले क्षतिपूर्तिको माग गरेका छन । आफुहरुलाई झुक्याएर गुणस्तरहीन अटो बिक्री गरि ठगी गरेको भन्दै उनीहरुले पत्रकार सम्मेलन गरि क्षतिपूर्तिको माग गरेका हुन ।
२०७५ सालमा बिर्तामोडको भद्रपुर बस स्टेण्डस्थित नेपाल ट्रेड कन्सर्नले टुकटुक ब्राण्डको अटोलाई अन्य ब्राण्डहरु भन्दा गुणस्तरीय रहेको भनेर बिक्री गरेको तर खरिद गरेकै दिन अटो बिग्रेको, कमाइ भन्दा अटो मर्मतमा बढी खर्च भएका कारण अटो नै बिक्रेतालाई जिम्मा लगाएको उनीहरुको गुनासो छ ।
पियाजिओ कम्पनीको दिने भनेर आफुबाट १ लाख ८२ हजार बैना लिएको तर हप्ता दिनपछि त्यति नै राम्रो छ भनेर गुणस्तरीय टुकटुक ब्राण्डको अटो आफुलाई बिक्री गरेको पीडित मध्येका एक बिर्तामोड-४ का दुर्गाप्रसाद सुबेदीले गुनासो गरे । अटो लैजाँदा लैजाँदै झिलझिले नपुग्दै बिग्रेको उनको भनाई छ । अर्कैले फिर्ता गरेको अटो आफूलाई बिक्री गरेको पछिमात्र आफूले थाहा पाएको सुबेदीले बताए । नगद १ लाख ८२ हजारसँगै शोरुमले प्रथम बहुउद्देश्यीय सहकारीमार्फत फाइनान्स गराइदिएर शोरुमले अरु ४ लाख रुपैँयासमेत लगेको सुबेदीको भनाई छ ।
उनले अटो पटक पटक बिग्रने र नयाँ अटोमा खर्च अत्यधिक आउन थालेपछि ६ महिनापछि अटो शोरुमलाई जिम्मा लगाएको र लामो समय बितिसक्दापनि समस्या समाधान नगरेकाले आफू पिडित भएको बताए । शोरुम संचालक सुरेश साह र उमेश साहलाई समस्या समाधानका लागि पटकपटक आग्रह गर्दापनि नसुनेको, हाल कम्पनी नै बन्द गरेको र जे गर्न मन लाग्छ गर्नु भन्नेजस्ता गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेकाले क्षतिपूर्तिका लागि आफुहरु सम्बन्धित निकायको ढोकासम्म पुग्न बाध्य भएको उनले बताए ।
हल्दिबारी-२ का किरण आचार्यको पनि गुनासो उस्तै छ । आचार्यलाई बजाजको अटो दिने भनेर १ लाख ८० हजार लिएको तर पछि त्यो भन्दा राम्रो भनेर टुकटुक बिक्री गरेको आचार्यले बताए  । अटो घर पुर्याएर केही बेरमा स्टार्ट गर्न खोज्दा नभएको र छिमेकीलाई बोलाएर हेर्दा ट्यांकी चुहिएको र पेट्रोल सकिएर स्टार्ट नभएको पाइएको उनले बताए । शोरुमबाटै फाइनान्सको सबै प्रक्रिया हुने सहकारीसँगको सम्झौतामा नियमित किस्ता नबुझाए अटो सहकारीले फिर्ता लिने उल्लेख गरिएको र अत्यन्तै बिग्रने र खर्च धान्न नसकेपछि सहकारीलाई नै अटो जिम्मा लगाएको बताए । उनले सहकारीमा १ लाख किस्तासमेत तिरेका थिए । अटोमा उल्टै रकम डुबेपछि आफू बिदेश गएको र सहकारीले ऋण तिर्न ताकेता गर्दा मात्र आफ्नो ऋण बाँकी रहेको थाहा पाएको आचार्यले गुनासो गरे ।
१५ दिन मै च्यासिस भाँचियो, कतैबाट रकम आएन
बिर्तामोड-३ का शतिस साहले आफ्नो अर्को कम्पनीको सिटी, १ लाख ७० हजार नगद र सहकारीबाट ऋण लिएर किनेको अटो भोलिपल्टै बिग्रेको र कुदाउँदा कुदाउँदै १५ दिनपछि च्यासिस भाँचिएर दुर्घटना भएको बताए । घाइतेको उपचार खर्च समेत ऋण गरेर तिरेको तर कतैबाट कुनै किसिमको सहयोग आफुले नपाएको उनले गुनासो गरे । दोस्रो पटकपनि च्यासिस भाँचिएपछि किनेको ३ महिना पछि नै शोरुमलाई अटो जिम्मा लगाएको तर शोरुमले हालसम्मपनि आफ्नो पैसा फिर्ता नगरेकाले ब्याज बढेर आफू ऋणमा डुबेको भन्दै साहले आक्रोश पोखे ।
कार्यक्रममा अन्य पिडितहरु शिवनन्द राजबंशी कचनकवल-१, गंगादेवी बुढाथोकी शिवसताक्षी-१०, निराकुमारी खड्का अर्जुनधारा-१ र बिर्तामोड-८ निवासी दिपा ढुंगेल उपस्थित थिए । पिडितहरुले गुणस्तरहिन अटो आफुलाई शोरुमले झुक्याएर बिक्री गरेका कारण पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश समिति मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुबेर श्रेष्ठ, बासु दुलाल र जिल्ला कमिटी सदस्य कुशल आचार्यले सम्बन्धित निकायले पिडितहरुको समस्या सुन्नुपर्ने र न्याय दिलाउनु पर्ने बताए । पिडितहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्नु पर्ने उनीहरुले बताएका छन ।
पिडितले भनेजस्तो समस्या होइन : संचालक साह
यता शोरुम संचालक सुरेश साहले भने पिडितहरुले भने जस्तो अटो गुणस्तरहिन नभएको जिकिर गरे । टुकटुक भारतीय ब्राण्डको भएको र बिर्तामोडको सडकमा अहिलेपनि संचालनमा रहेको बताए । मेसिनरी सामान पुरानो हुँदै जाँदा सामान्य समस्या आउने उनले दाबी गरे । शोरुममा केही बर्ष अघि आगलागी भएका कारण अहिले अहिले बन्द रहेको उनले बताए । तत्कालिन नेपाल ट्रेड कन्सर्न रहेको स्थानमा भबे साहले बीएस मार्ट संचालन गर्दै आएका छन ।  

सम्बन्धित समाचार