बिर्तामोड अस्पताल समयमा नबनाएको भन्दै धुलिखेललाई पत्र
बिर्तामोड । समयमा नगर अस्पताल भवन निर्माण सम्पन्न नगरेको भन्दै बिर्तामोड नगरपालिकाले निर्माण कम्पनीलाई चेतावनी दिएको छ । नगरपालिकाले सम्झौता अवधिभित्र काम सम्पन्न नगरेको भन्दै धुलिखेल निर्माण सेवा प्रालिलाई चेतावनी पत्र पठाएको हो ।
भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार निर्माण कम्पनीलाई चेतावनी सहितको पत्र काटेको हो । पत्रमा ३ दिन भित्र कार्य प्रगती नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरि कारवाही प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।
२०७९ साल असार १ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको र समयमा काम सम्पन्न गर्न कम्पनीलाई पटक पटक पत्राचार गर्दा समेत कम्पनीले आलटाल गर्दै आएको थियो । पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत कार्य प्रगति नदेखिएपछि यस पटक अन्तिम पत्र काटेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बताए । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमा काम सम्पन्न नभएको न्यौपानेले बताए ।
भवनमा प्लोरिङ्ग, पानी, बिजुली, झ्याल ढोका, रङ्ग रोङ्गनलगायतको काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल निर्माण सेवा प्रालिले २०७७ साल असार ८ गते २ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ५ करोड ५० लाख ७ हजार ७६० रुपैँयामा ठेक्का सम्झौता गरेको थियो ।