भूमी आयोगमा पाँचथरबाट पाँच हजार बढी निवेदन
फिदिम । पाँचथरमा पाँच हजार ८५ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले भूमि आयोग जिल्ला समितिमा निवेदन दिएका छन् ।
राष्ट्रिय भूमि आयोगले प्रथमपटक प्रकाशन गरेको ३५ दिने सूचनाका आधारमा जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा गरी पाँच हजार ८५ जनाको निवेदन परेको हो । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा बढी एक हजार सात सय ७६ र कुम्मायक गाउँपालिकामा सबैभन्दा कम ३३ वटा निवेदन परेको आयोगको जिल्ला समितिले जनाएको छ ।
पाँचथरको याङवरकमा गाउँपालिकामा भने एउटासमेत निवेदन नपरेको समितिका सदस्य सचिव एवम नापी कार्यालयका प्रमुख उमेश नेम्वाङले जानकारी दिए। समितिको तथ्याङ्कअनुसार निवेदनमध्ये भूमिहीन दलितका ९० वटा, भूमिहीन सुकुम्बासीका एक सय २२ वटा र अव्यवस्थित बसोबासीका चार हजार आठ सय ७३ वटा निवेदन परेका छन् ।
निवेदन आएपश्चात जिल्लाको हिलिहाङ गाउँपालिकाले अस्थायी निस्सा वितरण गरेको छ । यस्तै फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले तथ्याङ्क प्रविष्टीको काम गरिरहेका छन् । हालसम्म एक हजार एक सय निवेदनको लगत प्रविष्टी भइसकेको सदस्यसचिव नेम्वाङले जानकारी दिए।