२०८३ बैशाख १८ गते , शुक्रबार

विशेष नगरसभामार्फत बिर्तामोडले पास गर्यो तीन विधेयक

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १३ गते , सोमबार
विशेष नगरसभामार्फत बिर्तामोडले पास गर्यो तीन विधेयक

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत ३ वटा विधेयक पास गरेको छ । विशेष नगरसभाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरेको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो । यस्तै विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाकी अध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले कानून अत्यन्त आवश्यक भएकाकारण विशेष सभाबाट पास गरेको र आजकै दिन देखि लागु हुने बताइन ।
सभामा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर कमिटीका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाले नगरको विकासको लागि विशेष नगरसभा मार्फत विधेयक पास गरेको बताए । ऐनले सबैलाई अनुशासित बाटोमा हिँडाउने भन्दै उनले कार्यान्वयनमा जोड दिए । 
बिर्तामोड नगरपालिकाको भदौ १० गते बसेको कार्यपालिका बैठकले पास गरेर आज विशेष नगरसभामा विधेयक प्रस्तुत गरिएको हो । कार्यपालिका बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७९, अनुगमन समिति सञ्चालन कार्यविधि २०७९, लेखा समिति सञ्चालन व्यवस्थापन कार्यविधि २०७९ र शहरी वस्ती विकास योजना तथा भवन निर्माण मापदण्ड र इजाजत सम्वन्धि कार्यविधि २०७९ पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार