निहारिकाको पक्षमा फैसला गर्दै आरोपितको डिएनए परिक्षण गर्न आदेश
काठमाण्डौ । उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।
निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।
गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटक(पटक अनशन बस्दै आएकी थिइन् । उच्च अदालत सरकारी वकिल कार्यालय जनकपुरमार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षण गराउन अदालतको आदेशमा भनिएको छ ।