कचनकवलका तीन किशोरीद्वारा सामूहिक आत्महत्या
बिर्तामोड । कचनकवल गाउँपालिका वडा नम्बर ५ पाठामारीका तीन जना किशोरीले एउटै रुखमा झुण्डिएर सामूहिक आत्महत्या गरेका छन् ।
पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानस्थित झिङ खोलाको किनारमा रहेको बयरको रुखमा स्थानीय तीन जना किशोरीहरुले झुण्डिएर सामूहिक आत्महत्या गरेका हुन् ।
यसरी आत्महत्या गर्नेहरुमा १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना आज विहान ७:३० बजे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरु हिजो दिउँसोदेखि हराएका थिए । दुईजना एउटा हाँगामा र एक जना अर्को हाँगामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार एकजनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् । ती तीनैजना किशोरीहरु चिया बगानमा काम गर्ने गरेका थिए । उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर कानूनी प्रक्रियाको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।