इप्रका अनारमनीका प्रमुख कुवँर 'महिनाको सर्वोत्कृष्ट प्रहरी' घोषित
बिर्तामोड । असार १२ गते हत्या गरेर झापा अर्जुनधारा-४ स्थित जुकेखाडी-साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएका भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको हत्यामा संलग्नलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सफल भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर असार महिनाको 'महिनाको सर्वोत्कृष्ट प्रहरी' घोषित भएका छन । मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको 'सर्वोत्कृष्ट प्रहरी' घोषणा गरेको हो ।
भारतीय नागरिकको हत्या आरोपमा अर्जुनधारा-७ की ३२ वर्षीया जानुका देवी थापा, निजका श्रीमान ४९ वर्षीय विजय भन्ने बृख बहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ बर्षीय सुरेश परियार र सुन्दर हरैँचा-६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो ।
पुरस्कृत भएका कुवँरले लागूऔषध, चोरी लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले कुँवरलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल असार 'महिनाको सर्वोत्कृष्ट प्रहरी' घोषणा गरिएको हो प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय 'क' स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।