८० राउन्ड गोलीसहित भद्रपुरका १८ बर्षीय युवा पक्राउ
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्मद प्यारे मोवाइल चोरीको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका प्यारेको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।
यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट उनले विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी २ थान र नगद ६१ हजार ५०० रुपैयाँ गरी जम्मा ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी गरेको आरोप छ । प्रहरीले प्यारेलाई २८ गते राती पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवाइल, मोवाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।