बिर्तामोडमा आँप तथा कटहर महोत्सव
बिर्तामोड । झापाको बिर्तामोडमा आँप तथा कटहर महोत्सव शुरु भएको छ । बिर्तामोडका शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुङ्गानाले जय ड्रिमल्याण्ड पार्कस्थित बगानमा महोत्सव आयोजना गरेका हुन् ।
शनिवार महोत्सवको उद्घाटन गर्दै ढुङ्गानाले आफुले विदेशमा हासिल गरेको ज्ञान यहाँको समाजमा बाँड्न चाहेको बताए । २०७३ सालमा पहिलो पटक अमेरिकाको भर्जिनियामा आयोजित स्याउ महोत्सवमा सहभागी हुँदा नेपालमा पनि यस्तै महोत्सवको आयोजना गर्ने सोँच बनाएको बताए । उनले केहि बर्षदेखि लिची महोत्सवपनि आयोजना गर्दै आएका छन् ।
बिर्तामोडमा बढ्दो शहरीकरणका बिच खुला जमिनमा विरुवा लगाएर पर्यावरणलाई हरित बनाउने ढुङ्गानाको कार्यको महोत्सवमा सहभागीहरुले प्रशंसा गरे । ढुङ्गानाले १३ विगाहा क्षेत्रफलमा विभिन्न प्रजातिको आँप, लिची, रुख कटहर, सुपारी, अम्बक लगायत फलफुल लगाएको बताए । कलेजमा पढ्ने विद्यार्थीलाई प्रत्यक्ष रुपमा रुख चिनाउने कार्यमा बगैँचाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । बढ्दो शहरीकरणको सन्तुलनका लागिपनि बोटविरुवा आवश्यक भएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै कृषिज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बजारमा पाइने रसायनयुक्त फलफूल स्वास्थ्यको लागि हानिकारक भएको बताउँदै ढुङ्गानाले बगैँचामा नै पाकेको फलफूल महोत्सव आयोजना गरेर उदाहरणीय कार्य गरेको बताए । बजारमा पाइने एकसरो पाकेको फलफूलमा रसायन हुनसक्ने बताउँदै विष्टले उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिए । व्यवसायीक खेती गर्ने कृषकका लागि केन्द्रले आवश्यक प्राविधिक सहयोग गरिने जानकारी दिए ।
ज्ञानकेन्द्रका बागवानी विकास अधिकृत अंकित भट्टराईले बगैँचामा आयोजना गरिएको महोत्सव पहिलो भएको बताए । आँपमा भिटामिन सी, आइरन र शरिरमा जम्मा भएर बसेको बोसो पचाउन मद्दत गर्ने एन्टिअक्सिडेन्ट हुने भएको आँप स्वास्थ्यको लागि उपयोगी भएको बताए । आँपको पात धार्मिक तथा साँस्कृतिक कार्यमा प्रयोग हुने भएकाले पातको समेत महत्व भएको उनले बताए ।
एक हप्तासम्म चल्ने महोत्सवमा प्रवेश शुल्क एक सय रहेको र बोटमा भएको आँप पेटभरी खान सकिने ढुङ्गानाले जानकारी दिए । उनले महोत्सव अवधिभर पचास रुपैँया किलोमा आँप विक्री गरिनेसमेत बताए ।