दोस्रो चरणको आन्दोलनमा पूर्वका उद्योगीहरु
विराटनगर । विराटनगरका उद्योगीहरूले आर्थिक वर्ष २०७९÷८० को बजेटमा भएको राजस्व हेरफेर पुनर्विचार नभएको भन्दै आन्दोलन सुरु गरेका छन् । वनस्पति घिउ तेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई बजेटले मार्का पारेको भन्दै उनीहरू अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका थिए ।
बजेट पास भएपछि पुनर्विचार गर्ने भनेर अर्थमन्त्रीले भने पनि वास्ता नगरेका कारण आन्दोलन गर्नु परेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।
मोरङको बुढीगङ्गा गाउँपालिकामा पर्ने धरान–विराटनगर राजमार्गको गोकुवा चोकबाट विरोध जुलुस र नेमुवा चोकमा कोणसभाको आयोजना गरिएको थियो ।
वनस्पति घिउ तेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई बजेटले मार्का पारेको भन्दै बुधवारदेखि तीन व्यावसायिक सङ्गठन र चार मजदुर सङ्गठनले दोस्रो चरणको संयुक्त आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परि सङ्घ (सिएनआई)को प्रदेश नम्बर १ सहित नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस समर्थित ४ ट्रेड युनियन सहभागी छन् ।
विरोध जुलुसपछि आयोजित कोणसभामा मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाले गत जेठ २७ गते अर्थमन्त्री शर्मा र अर्थ सचिव मधुकुमार मरासिनीले उद्योगी व्यवसायीलाई वार्तामा बोलाएर बजेट पास भएका भोलिपल्टै तीन वटै उद्योगका समस्या समाधान गर्ने वचन दिए पनि अहिले कार्यान्वयन नगरेको आरोप लगाए ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले अर्थमन्त्री र अर्थ सचिवले आफ्नो बचन पूरा नगरेको बताए । सिएनआई प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले जेठ २७ को आश्वासनको परिणाम अहिलेसम्म नआएको गुनासो गर्दै यो मुलुकमा आन्दोलन गरी केही नहुने परम्परा बसेकाले व्यवसायी र मजदुर संयुक्त रूपमा सडकमा निस्किएको बताए ।
व्यापार सङ्घका पूर्व अध्यक्षप्रकाश मुन्दडाले व्यवसायी र मजदुर सडकमा आउनमा सरकार जिम्मेवार भएको हुँदा यो आन्दोलनमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने बताए ।