उवा संघका पदाधिकारी बिना शर्त रिहा
बिर्तामोड । ब्यवसायीका लागि बिद्युत मिटरको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा पक्राउ परेका बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारीहरु बिना शर्त रिहा भएका छन ।
बिर्तामोडको बुधबारे हटियामा ब्यवसाय गर्दै आएका ब्यापारीहरुलाई बिद्युत मिटर माग गर्दै उद्योग वाणिज्य संघको नेतृत्वमा बिर्तामोड नगरपालिकामा चार दिनदेखि शान्तिपूर्ण आन्दोलन हुँदै आएको थियो । सोही आन्दोलनको निरन्तरता स्वरुप बुधबार शान्तिपूर्ण धर्नामा बसेका
वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सह-कोषाध्यक्ष राधिका चुडाल हुमागाईलगायत ११ जना ब्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई बिना शर्त रिहा गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
व्यापारी र नगरपालिकाबिच उत्पन्न समस्या समाधानका लागि बुधबार इलाका प्रहरी कार्यालय अनारमनीमा प्रमुख जिल्ला अधिकारी छबिराज रिजालको उपस्थितिमा भएको छलफलले तीनदिन भित्र बिद्युत मिटर जडानको प्रबन्ध मिलाउने मौखिक समझदारी भएको बिर्तामोड उद्योग वाणिज्य संघले बिज्ञप्ति मार्फत जनाएको छ । छलफलमा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेसका झापा अध्यक्ष देउकुमार थेबे, नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ को तर्फबाट अध्यक्ष टिकाराज ढकाल, बिर्तामोड उवा संघको तर्फबाट प्रकाश शिवाकोटी सहभागी थिए ।
तीन दिनसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने अध्यक्ष शिवाकोटीले जानकारी दिए । तीन दिनभित्रमा पनि समस्याको समाधान नभए थप आन्दोलनको कार्यक्रम गरिने उनले बताए । हाललाई बिद्युत मिटर माग गरिएको र स्थायी संरचना बनेको खण्डमा ब्यवसायीहरुले ठाउँ खाली गरिने उनको भनाई छ ।